दल विभाजन अध्यादेश: एमाले फायर, जसपा खुशी



काठमाडौँ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेपाली राजनीति पुनः तातिएको छ।

जसपाको महन्त पक्षधरले अध्यादेशलाई सकारात्मक रुपमा लिएको छ भने एमाले केपी ओली पक्षले विरोध जनाएको छ। त्यस्तै एमाले माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने बताएका छन्।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि प्रतिक्रिया दिंदै उनले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारीगर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र भएको बताएका छन्।

राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको सत्तारुढ पार्टी नेपाली कांग्रेसभित्रै विरोध भएको छ।कांग्रेस नेता डा.शेखर कोइरालाले ट्विट गर्दै अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताएका छन्।

‘सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न,’ कोइरालाले ट्विटरमा लेखेका छन्,‘सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्थ्यो। यो चुक प्रधानमन्त्रीबाट भयो। यो कांग्रेसको संस्कार होइन।’