मुडा बजारमा प्रहरीद्वारा तपाईंको मास्क खोइ? अभियान



बौनिया (कैलाली)। कैलालीको बर्दगोरियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले मास्क वितरण अभियान जारी राखेको छ। पालिकाका मुख्य दुई बजार क्षेत्र सडकपुर बौनिया र मुडा बजारमा प्रहरीले यो अभियान जारी राखेको हो।

नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोइ?’ अभियान अन्तर्गत सोमबार सडकपुर बौनिया बजारमा मास्क वितरण गरेको इलाका प्रहरी कार्यालय बौनियाले मंगलबार मुडा बजारमा मास्क वितरण गर्यो।

कार्यालयका प्र.ना.नि. विष्णु बहादुर महताराको कमाण्डमा ट्राफिक प्रहरी सहित ५ जनाको प्रहरी टोलीले बजारमा मास्क विना हिडडुल गर्ने नागरिक, सवारी चालकलाई मास्क वितरण गर्नुका साथै अनिवार्य मास्क लगाउनुपर्ने विषयमा जानकारी समेत दियो।

कोरोना भाइरसको नयाँ भेरियन्टसहित कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई मध्यनजर गरी संक्रमण रोकथामका लागि यो अभियान पुनः थालिएको प्रहरीले जनाएको छ।

अभियानमा कोरोना नियन्त्रणका लागि तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोइ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ।

कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा सतर्कताका लागि ‘तपाईंको मास्क खोइ?’ अभियान चलाएको प्रहरीले मास्क नलगाई खुलेआम हिँडडुल गरे कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिएको छ। यतिबेला सडक र सार्वजनिक स्थलमा सुरक्षाकर्मीले पुनः निगरानी बढाएका छन्। निगरानीमा सडक प्रयोगकर्ता, सर्वसाधारण मजदुर, सवारीचालक, सार्वजनिक यातायातका यात्रु, कार्यालयका सेवाग्राही तथा व्यवसायी परेका छन्।

कोरोना भाइरसले निम्त्याएको परिस्थिति जटिल बन्दै गएकाले सबैलाई मास्क अनिवार्य छ भन्ने सन्देश दिने अभियानसहित प्रहरीले प्लेकार्ड बोकेर सचेता अभियान समेत बढाएको छ।

तस्बिरमा हेर्नुहोस्:

तस्बिर: एपिओ बौनिया