चिनले तालिवानीसँग मैत्रीपूर्ण सम्बन्ध चाहान्छ: प्रवक्ता चुन्यिङ



काठमाडौँ। अफगानिस्तानको राजधानी काबुलमा तालिबानले नियन्त्रण कायम गरेसँगै सोमबार चीनले तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक रहेको बताएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले यस्तो बताएकी हुन्। सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘अफगानी नागरिकले आफ्नो भविष्यको निर्णय आफैं गरुन्, चीन उनीहरुको यो अधिकारको सम्मान गर्छ। चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकास गर्न इच्छुक छ।’

यसअघि चीनले आफ्नो काबुलमा रहेको दूतावास बन्द नगर्ने बताएको थियो। चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न र स्थितिप्रति सतर्क रहन सुझाव दिएको थियो।

साथै उसले विभिन्न निकायसँग आफ्ना नागरिकको सुरक्षाको लागि आग्रह गरेको थियो। तालिबानका प्रतिनिधिले गत जुलाई महिनामा चीनको भ्रमण गरेका थिए। त्यसबेला उनीहरुको भेट चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको थियो।