बर्दगोरियामा प्रहरीले फेरि सुरु गर्यो ‘तपाईंको मास्क खोइ?’ अभियान (फोटो फिचर)



बौनिया (कैलाली)। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोइ?’ अभियान सोमबारदेखि कैलालीको सडकपुर बौनिया बजारमा संचालन गरिएको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बौनिया र ट्राफिक प्रहरीले संयुक्तरूपमा यो अभियानको सुरुवात गरेका हुन्। कोरोना भाइरसको नयाँ भेरियन्टसहित कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई मध्यनजर गरी संक्रमण रोकथामका लागि यो अभियान पुनः थालिएको प्रहरीले जनाएको छ।

अभियानमा कोरोना नियन्त्रणका लागि तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोइ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने, मास्क नलगाई आवातजावत गर्ने नागरिक, सवारी चालक, यात्रु, मोटरसाइकल चालक, अटोरिक्सा चालक र यात्रुगरी करिब दुईसय बढीलाई सोमबार बिहान मास्क वितरण गरिएको छ।

कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा सतर्कताका लागि ‘मास्क खोइ ?’ अभियान चलाएको प्रहरीले मास्क नलगाई खुलेआम हिँडडुल गरे कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिएको छ। यतिबेला सडक र सार्वजनिक स्थलमा सुरक्षाकर्मीले पुनः निगरानी बढाएका छन्। निगरानीमा सडक प्रयोगकर्ता, सर्वसाधारण मजदुर, सवारीचालक, सार्वजनिक यातायातका यात्रु, कार्यालयका सेवाग्राही तथा व्यवसायी परेका छन्।

कोरोना भाइरसले निम्त्याएको परिस्थिति जटिल बन्दै गएकाले सबैलाई मास्क अनिवार्य छ भन्ने सन्देश दिने अभियानसहित प्रहरीले प्लेकार्ड बोकेर सचेता अभियान समेत बढाएको छ।

तस्बिरमा हेर्नुहोस्:

तस्बिर: रमेशकुमार बम, बौनिया