देउवालाई मन्त्रीपरिषद विस्तार गर्न यस कारण सकस



काठमाडौँ। गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

सत्ता गठबन्धनका सांसदहरु मन्त्री बन्नका लागि बालुवाटार र आफ्नो दलका नेताहरुको घरमा दौडधूप चलाइरहेका छन्। देउवालाई पार्टीभित्रको आन्तरिक कारण र सत्ता साझेदार दलहरूलाई मन्त्रिपरिषदलाई पूर्णता दिन सकस परेको देखिन्छ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस अहिले सरकार विस्तारमा भन्दा पनि पार्टीको आन्तरिक किचलो व्यवस्थापनमै बढी केन्द्रित देखिएको छ। कांग्रेसको मात्र होइन, सत्तासाझेदारी दल नेकपा माओवादी केन्द्र र जसपाको हालत पनि त्यस्तै छ। कसैलाई पार्टीको बैधानिकता जोगाउन मुस्किल छ भने कोही फुटको श्रृंखला बाट गुज्रिरहेका छन त कोही फुटको संघारमा छन्।

दलहरू कमजोर अवस्थामा छन्। त्यसले गर्दा कठिन समयमा सत्ताको बागडोर समाल्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको हो। पार्टीबाट मन्त्री हुनेहरूको टुंगो लगाउने विषयमा प्रधानमन्त्री देउवा आफैं मुस्किलमा छन्। कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला समूहलाई समेट्ने विषयमा पनि समझदारी हुन सकेको छैन। उनकै पक्षका नेताहरुमा पनि द्वन्द्व छ।

सत्ताघटक दलका सांसदहरुबीच नै मन्त्री बन्ने तीब्र आकांक्षा कारण हानथाप चलिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा नै सबै सांसदले मन्त्री मागेकाले आफू कसलाई बनाउने भनेर तनावमा परेको अभिव्यक्ति समेत दिएका थिए। त्यसयता मन्त्री छान्न बसेको माओवादी स्थायी समिति बैठकले कसलाई मन्त्रीमा पठाउने ? भन्ने निर्णय गर्न सकेन।

प्रचण्डले मन्त्री बन्ने आकांक्षीको दबाबलाई थेग्न सकिरहेका छैनन्। पार्टीभित्र मन्त्री बन्ने आकांक्षी धेरै हुँदा मन्त्री छान्न सकस परेको छ। त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि समस्यामा छन्। मन्त्री बन्नका लागि कतिपय सांसदले गुट परिवर्तन गरेका छन्। यदि मन्त्री बन्न नपाए पुनः गुट परिबर्तन गर्न सक्ने खतरा पनि छ।

यादवले अप्ठ्यारो टार्नकै लागि पनि अलमल गरिरहेका छन्। शनिबार राजधानीको एक कार्यक्रममा नेता नेपालले केही साथीहरु झण्डै दाम्लो चुडाएर जान खोजेको र दाँम्लो चुडालेर जान खोज्नेलाई रोक्न नसकिने अभिब्यक्ति दिएका थिए। मन्त्री बन्नकै लागि केपी शर्मा ओली खेमा छाडेर नेपाल खेमामा गएकाहरु छन्। उनीहरु मन्त्रिमण्डल विस्तारमा परेनन् भने नेपाललाई धक्का लाग्न सक्छ।

प्रधानमन्त्री देउवाले नेपाल समूहलाई सरकारमा सहभागी गराउन गृहकार्य गरे पनि नेपाल समूह सरकारमा सहभागी हुने नहुनेबारे निर्णय लिन सकेको छैन। सत्ताघटक दलहरु भने गठबन्धन भित्रको बाध्यताले ढिलो भएको भन्दै माधव नेपाल समूह बाहेक काँग्रेस, माओवादी र जसपाले मन्त्री पठाएर सरकारलाई पूर्णता दिन समस्या नभएको बनावटी जवाफ दिदै आएका छन।

कुरा सुन्दा देउवाले मन्त्रिमण्डल विस्तार नगर्नुमा नेकपा एमालेको माधवकुमार नेपाल पक्ष नै मुख्य कारण हो। अहिलेको समयममा मन्त्रीमण्डलाई पुर्णता दिएर सरकारलाई चलाएमान बनाउनु पर्ने समयममा गठबन्धनमा रहेका दलहरु भने भागबण्डामा ब्यस्त छन्।