उपाध्यक्ष शाहीद्वारा सरकारी स्कुटरको दुरूपयोग



कालिकोट। जिल्लाको ​शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरूपयोग गरेको भेटिएको छ।

कार्यालय सञ्चालनको बाहानामा कार्यकालको पहिलो वर्षमै आफ्नो लागि किनेको भे १ ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले सहोदर देवर दिपक शाहीलाई चलाउन दिएको भेटिएको हो।

एक वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बस्दै आएका देवर शाहीले उक्त स्कुटर चलाउँदै आएका छन्। गाउँपालिकाको बजेटमा खरिद गरी निकालिएको स्कुटर आफ्ना आसेपासेलाई दिएको भन्दै स्थानीयले विरोध जनाएका छन्।

‘राज्यको सम्पत्ति जनताको सेवाका लागि प्रयोग गर्नु अस्वभाविक हो। तर दुरुपयोग गर्न पाइदैन,’ स्थानीय तिलक चौलागाईंले भने। शुभकालिका गाउँपालिकामा सडक नै पुगेको छैन, स्थानीय नागरिक सडकको पहुँचमा छैनन्, अझै पनि यहाँका नागरिक पिठ्युँमा भारी बोक्न बाध्य छन्, उता गाउँपालिकाले महँगो स्कार्पियो गाडी खरिद गरेको छ।’