काठमाडौँ। अनेरास्ववियुकी नेता सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुुस्तकको विमोचन गरिएको छ।
शनिबार राजधानीको बागबजार स्थित होटेल हार्दिकमा एमालेका महासचिव इश्वर पोखरेलले उक्त पुस्तक विमोचन गरेका हुन्।
पोखरेलले नेता बरालको लेखनको प्रसंशा गदै आगामी दिनमा थप प्रगतिको कामना गरेका छन्। साथै महासचिव पोखरेलले ‘समृद्धिप्रतिको संकल्प’ लाई लिएर केही वैचारिक तर्कहरू अघि सारेका थिए। उनले भने, ‘सुनिताजिलाई पुस्तकका लागि बधाई छ। यस पुस्तकमा विभिन्न विषयहरू समावेश गर्नु भएको छ। सबै विषयहरू गहन छन्। त्यसैमा पनि गणतन्त्र, लोकतन्त्र, बहुदलीय जनवादका बारेमा पनि केही प्रसँगहरु उठाउनु भएको छ।’
उनले अगाडि भने, ‘साशन जे सुकै भएपनि त्यो साशनले जनतालाई सेवा प्रवाह कसरी गरिरहेको छ? त्यसले महत्वपूर्ण अर्थ राख्छ। विचार र व्यवहारबीचको मेल छ कि छैन? भन्ने कुराले अर्थ राख्छ। सुनिताजिले यस पुस्तकमा समृद्धि, विकास, राजनीति, वाद विचारहरूका बारेमा आफ्ना दृष्टिकोणहरू अघि सार्नु भएको छ। सामाजिक न्यायका बारेमा आफ्ना कुराहरू राख्नु भएको छ। यो पुस्तकमा रहेका कुरालाई समयसापेक्ष रुपमा सम्पादन गरेर प्रकाहिशत गरेको भए झन् राम्रो हुने थियो भन्ने मलाई लागेको छ। आगामी दिन यस प्रकारका पुस्तकहरू सार्वजनिक गर्दा ख्याल गर्नुहोला भन्न चाहन्छु।’
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेता बरालको कितामाथि राजनीतिक, वैचारिक र दार्शनिक रुपमा टिप्पणी गरेका थिए।
तस्बिर: मुकुन्द कालिकोटे