तालिवान काबुलबाट मात्र ५० किलोमिटर टाढा



काठमाडौँ। तालिवानले तीव्ररुपमा अफगानिस्तानका प्रमुख सहरहरुलाई कब्जा जमाइरहेको छ।

विद्रोही समूह अब राजधानी काबुलभन्दा मात्र ५० किलोमिटर टाढा रहेको छ। देशका ३४ मध्ये १९ प्रान्त र त्यसको राजधानी तालिवानको नियन्त्रणमा पुगेको छ।

राजधानी काबुलको सीमामा रहेको लोगरको प्रान्तीय राजधानी फूल–ए–आलममा पनि आफ्नो लडाकुहरु प्रवेश गरेको तालिवानको दाबी छ। यो काबुलबाट मात्र ५० किलोमिटरको दुरीमा रहेको छ र यसको अर्थ अब २ घण्टामा नै त्यहाँबाट तालिवान काबुल पुग्न सक्छन्। शुक्रबार मात्र तालिवानले कन्दाहार र लश्कर गाहमाथि पनि कब्जा जमाउन सफल भएको थियो।

तालिवानले शुक्रबारसम्म निमरोज, जव्ज्जान, सर्पिल, तखारी, कुन्दुज, समनगन, फराह, बगलान, बदख्शन, गजनी, हेरात, बदघिश, कन्दाहार, हेलमन्द, घोर ऊरुजगान, जाबूल, लोगर र पक्तियासहित १९ प्रान्त र त्यसको राजधानी कब्जा गरिसकेको छ।

यसबीच काबुलमा यतिबेला अन्योलको अवस्था रहेको छ। मानिसहरु अत्तालिएका छन्। कोही भने राष्ट्रपति असरफ घानीले राजीनामा दिने बताइरहेका छन् भने कोहीले तालिवानसँग लड्ने बताइरहेका छन्। सरकार र सैन्य अधिकारीहरुको सरगर्मी बढेको छ। शुक्रबार मात्र अशरफ घानीले राष्ट्रिय सुरक्षालाई लिएर उच्च स्तरीय बैठक गरेका छन्। उनले आफ्नो राजीनामाबारे अनुमानलाई विराम लगाउँदै तालिबानसँग मजबुतीका साथ लड्ने बताए।

बीबीसीका अनुसार पछिल्लो एक महिनामा मात्र १ हजार बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। पछिल्ला केही दिनमा तालिवानले सरकारी मिडियाका प्रमुखदेखि राजनीतिक नेताहरुको हत्या गरेको छ। अमेरिका र बेलायतले आफ्नो दूतावासबाट कर्मचारीको संख्या कम गर्ने बताइसकेको छ। रुसले भने आफ्नो यस्तो कुनै योजना नरहेको बताएको छ।

अफगानिस्तानमा तालिबानको बढ्दो पकडबीच नेटोका सहयोगी राष्ट्रहरुको शुक्रबार बैठक बसेको थियो । गठबन्धनले तालिबानको हिंसाको आलोचना गर्दै अफगान सरकारको समर्थन जारी राख्ने फैसला गरेको छ ।