काठमाडौँ। सांसद तथा नेकपा माओवादी केन्द्रका नेता दुर्गबहादुर रावतले वर्तमान गठबन्धनको सरकारलाई जनताको सेवा गर्ने काममा एक मिनेट ढिलाई गर्ने छुट नभएको स्पष्ट पारेका छन्।
शुक्रबारको प्रतिनिधिसभा संसद वैठकको विषेश समयमा बोल्दै सांसद रावतले उक्त कुरा स्पष्ट पारेका हुन्। उनले भने, ‘कालिकोट जिल्लाका विभिन्न स्थानमा गत वर्ष बाढि पहिरोका कारण प्रभावित बनेका थिए। ती पीडितहरूको बारेमा बारम्बार मैले संसदमा आवाज उठाएको थिए।
तर, अघिल्लो सरकारले पीडितहरूको बारेमा कुनै काम गरेन। वर्तमान गठबन्धनको सरकारले उनीहरूको अवस्थालाई गम्भीरताका साथ लिनुपर्छ।’
उनले भने, ‘अहिलेसम्म केन्द्रीय सरकारले पीडितहरूको बारेमा कुनै वास्ता गरेन। वर्तमान सरकारले पीडितहरुको बारेमा काम गर्न एक मिनेट पनि छुट छैन। ढिलाई नरिकन पीडितका मागहरु पूरा गर्नका लागि अनुरोध गर्दछु।’