हुम्लामा साँघु तर्ने क्रममा खसेर दुई जना बेपत्ता



सिमकोट। हुम्लामा काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएको जनाइएको छ।

उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जाने क्रममा बुधबार साँझदेखि बेपत्ता भएको स्थानीयवासी तारा रावलले जानकारी दिइन्। हराइरहेकाहरुको खोजी जारी रहेको उनको भनाइ छ।

जडीबुटी सङ्कलनका लागि थाली गाउँका करीब ३० जना गएको बताइएको छ। हुम्लासहित बाजुरा, मुगु, बझाङलगायतका जिल्लाका बासिन्दा यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन्।