कांग्रेसको वैधानिकता संकटमा



काठमाडौँ। सत्ताधारी नेपाली कांग्रेसले निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने भएपछि पार्टीको केन्द्रीय कार्यसमितिमा त्यसको सर्वोत्तम विकल्पबारे छलफल चलिरहेको पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन्।

पार्टी विधानले दिएको चार वर्ष र संविधानले दिएअनुसार थप गरिएको एक वर्ष र ६ महिना गरी साढे पाँच वर्षको अवधि भदौमा बितेसँगै कांग्रेस अवैधानिक बन्न पनि सक्ने सम्भावनाका माझ बिहीवारदेखि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।

भदौको पूर्वनिर्धारित मितिमा केन्द्रीय महाधिवेशन गर्न सक्ने स्थिति अब बिलकुलै बनेन। अब कुन प्रक्रियाबाट जाने अनि कसरी छोटो समयमा गर्ने भन्ने बारेमा छलफल सुरु भएको छ, प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीलाई बताए।

कोरोनाभाइरसको महामारीले महाधिवेशनपूर्वका गतिविधि प्रभावित बनेको अनि क्रियाशील सदस्यता विवाद पनि बाँकी रहेको कारण देखाउँदै कांग्रेसको महाधिवेशन सङ्कटमा परेको नेताहरूले बताउँदै आएका छन्।

कांग्रेस नेता मिनेन्द्र रिजालले भने, कोभिड महामारी र दुई दुई पटक प्रतिनिधि सभा विघटन यी दुईवटै कारणले हाम्रो आन्तरिक पार्टी गतिविधि प्रभावित हुन पुग्यो। पार्टीको भन्दा देशको राजनीतिले प्राथमिकता पायो। अब असंवैधानिक हुनबाट जोगिने र पार्टीको महाधिवेशन पनि छिटै हुनेगरी हामी समाधान निकाल्छौँ।