लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ जनाको हस्ताक्षर



बुटवल। गठबन्धनले लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलका ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख बुझाएको छ।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन्।

गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन्। उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन्। सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए।

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ। त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन्। आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने केसीको तयारी छ।

अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ।