सुर्खेत। अनेरास्ववियू क्रान्तिकारीले मध्यपश्चिम विद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ।
विगत एक महिनादेखि आन्दोलनरत मपविका विद्यार्थीहरुले अघि सारेका मागप्रति अनदार रहेको भन्दै अनेरास्ववियूले उपकुलपतिलाई बर्खास्त गर्न माग गरेको हो।
अनेरास्ववियूका अध्यक्ष रञ्जित तामाङद्वारा हस्ताक्षरित विज्ञप्ति यस्तो छः
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गत एक महिनादेखि विभिन्न १८ सुत्रीय माग राखेर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनका नेता कार्यकर्तामाथि आज उपकुलपति प्राडा. नन्दवहादुर सिंहको ठाडो निर्देशनमा गरिएको क्रुर र बर्वर दमनको घोर निन्दा र भर्त्सना गर्दछौं।
उपकुलपतिको ठाडो आदेशमा गरिएको उक्त दमनवाट अखिल (क्रान्तिकारी) मध्यपश्चिमाञ्चल विश्वविद्यालयका संयोजक टोपेन्द्र पौडेल (राज), स्ववियु सभापति झक्कवहादुर शाही, टिकाराम ढकाललगायतका विद्यार्थी नेताहरु गम्भीर घाइते हुनुभएको छ। घाइते सवै साथीहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । त्यसैगरी विद्यार्थी नेताहरु दिपेन्द्रजंग शाही, रोशन बस्नेत, भुपेन्द्र बम, केशव खड्का, गोविन्द सिजापति, तेजबहादुर वम, रोशन मिश्र, सन्देश थापा लगायतका सम्पुर्ण गिरफ्तार साथीहरूलाई तत्काल रिहाइको माग गर्दछौं।
विद्यार्थी संगठनहरुले उठाएका न्यायपुर्ण मागहरुलाई सार्थक वार्ता र छलफलवाट हल गर्नुको सट्टा प्रहरी र भाडाका लठैत् प्रयोग गरेर विश्वविद्यालय प्रशासनले गैरजिम्मेवारपनको पराकाष्ठा प्रदर्शन गरेको छ। विश्वविद्यालय प्रशासनको कायरतापुर्ण दमनले संयुक्त विद्यार्थी आन्दोलन रोकिने छैन। महिनौंसम्म विश्वविद्यालयलाई अस्तब्यस्त वनाउने, समस्या समाधान गर्नुको सट्टा उल्टो विद्यार्थीलाई क्रुर दमन गर्ने र विद्यार्थी माथि गुण्डा परिचालन गर्ने नालायक उपकुलपतिलाई तत्काल वर्खास्त गर्न माग गर्दछौं। साथै उपकुलपतिले राजिनामा नदिएसम्म वा वर्खास्त नगरिंदासम्म निजलाई सामाजिक वहिष्कार गर्ने लगायतका अझ कडा र सशक्त कार्यक्रम सहित विद्यार्थी आन्दोलन जारी राख्न आह्वान गर्दछौं।
२०७८ /४/२६
रञ्जित तामाङ
अध्यक्ष