काठमाडाैँ। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली एमालेका युवा नेता दामोदर अर्याललाई लक्षित गर्दै शब्दवाण प्रहार गरेका छन्।
मंगलबार संसदमा सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘बजारमा एउटा गीत/कविता आएछ। ओलीको याद आउने चिज भत्काइदेउ भनिएको रहेछ। हो भत्काइदेउ धरहरा, पुरीदेउ रानी पोखरी। भत्काइदेउ ओलीको याद आउने संरचनाहरु। अहिलेको यो गठबन्धनको सरकारको पहिलो काम नै यहि त होला।’
नेता अर्यालले मंगलबार बिहान मात्रै सामाजिक सञ्जालमार्फत ओलीलाई व्यङ्ग्य प्रहार गरेका थिए। ओलीले अर्यालको कवितालाई उल्ट्याएर धरहरा भत्काउन र पानी पोखरी पुरीदिन आग्रह गरेका छन्।
अर्यालले लेखेका छन्:
बिर्सिदेउ दुई दुइचोटी संसद विघटनहरु
आँखा चिम्लिदेउ मिचिएका ती संविधानहरु
वास्ता नगरि देउ ती निरंकुशताहरु
बन्द गर ओलि याद आउने ती चिजहरु
नसोचिदेउ भएका ती भ्रष्टाचारहरु
नबोलिदेउ गरेका ती पार्टीका बिभाजनहरु
चुप लागिदेउ चिच्याएका ती जयजयकारहरु
बन्द गर ओलि याद आउने ती चिजहरु
फ्याकिदेउ ती बिकृत बनाइएको जबज र मदन भण्डारीहरु
कल्पना नगरि देउ कुवाटो हिडाइएको जनबाद र समाजबादहरु
छोडिदेउ धज्जी उडाएको लोकतन्त्र र त्यसका उपलब्धिहरु
बन्द गर ओलि याद आउने ती चिजहरु
बिर्सिदेउ बार्दलीका चिच्याहटहरु
सहिदेउ तिनका अहंकारि अट्टहासहरु
नहेरी देउ तिनका राजशी सान शौकतहरु
बन्द गर ओलि याद आउने ती चिजहरु
सक्छौ भने,
भत्काई देउ लडाका फोर्सहरु
पुरी देउ साइबर स्यालहरु
हटाइ देउ आई टि आर्मिहरु
बन्द गर ओलि याद आउने ती चिजहरु ।