फेरी जनताले मलाई प्रधानमन्त्री बनाउने छन्: केपी ओली



काठमाडौँ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू पुनःअसाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले आफू पुनः मूल ढोकाबाटै र असाधारण जनमतबाटै प्रधानमन्त्री बन्न आउने दाबी गरेका हुन्। उनले भने, ‘ ‘हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछु।’

उनले आफू काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको भन्दै फेरि पनि त्यसै गरी प्रधानमन्त्री हुने बताएका हुन्। उनले देश र जनताको सेवाका निम्ति जन्मिएको भन्दै आफू प्रधानमन्त्री हुन नजन्मिएको तर काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए।

​ओलीले सरकार परिवर्तन भएपछि दसैँ आए जसरी उफ्रिएको टिप्पणी पनि गरेका छन्। ‘तर सरकार परिवर्तन हुँदा गठबन्धनका नेताहरू दसैँ आए जसरी उफ्रनुभएको छ। एक महिनासम्म बधाई खाइरहनुभएको छ’, गठबन्धन सरकारप्रति व्यङ्ग्य गर्दै ओलीले भने, ‘यो सरकारले केही नगरेको भन्दा पनि गरेको छ। सुकुम्वासी भूमिहीन आयोग विघटन गरेर घाँटी सेरेको छ।’

उनले वर्तमान सरकार परिवर्तनको विषय विकृत तरिकाबाट भएको भन्दै आफूमाथि प्रहार भइरहेको भन्दै आफू सुखी नेपाल, समृद्ध नेपालीको उद्देश्य बोकेर हिँडेको मान्छेलाई गाली गलौचले फरक नपार्ने बताए। उनले आफू भ्रष्टाचार नगर्ने र अरूलाई गर्न नदिने भनेकाले आफ्नै पार्टीभित्रका साथीहरूलाई समस्या परेको हुनसक्ने बताए।