प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या



काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए। डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम सम्बन्ध वियोगान्त बनेको छ।

साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरिन्। घरको बलोमा सलले पासो लागेर उनले आत्महत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्णु देव पंजियारलाई नियन्त्रणमा लिएको छ।

२४ वर्षका विष्णु देव पंजियारलाई पक्राउ गरेर ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ मुद्दामा अनुसन्धान भइरहेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए। एसपी बोहराले भने–‘डेढ वर्षदेखि उनीहरूको बीचमा चिनजान र सम्बन्ध रहेको थाहा भएको छ।’

विष्णु देव नेपाल विद्युत् प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए। इलेक्ट्रिसियन पदमा कार्यरत पंजियारसँग ३१ वर्षीया सावित्रासँग त्यहीँ चिनजान भएको थियो। मृतकका बुवा देव नारायण चौधरीले पंजियारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुर गरेका छन्। मृतकको बुवाको उजुरीपछि आइतबार राति विष्णुदेवलाई प्रहरीले पक्राउ गरेको हो।

तमसुकले रोकेन आत्महत्या

रातोपाटीका अनुसार विष्णु देव र सावित्राले ०७८ साउन १९ मा ‘श्रीमान् श्रीमतीको हैसियतमा बस्ने र लगन आएपछि विवाह गर्ने’ तमसुक गरेका रहेछन् । तर, कानुन व्यवसायी राखेर पाँच दिनअघि गरेको तमसुकले सावित्राको आत्महत्यालाई रोक्न सकेन ।

साउन २२ मा प्रेमीको घरमा जाँदा त्यहाँ अर्की युवती पनि देखेपछि सावित्रा बेचैन भइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार विष्णु देव र अर्की युवतीको बिचमा पनि पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेछ । सो सम्बन्ध थाहा पाएपछि सावित्राले आफूलाई सम्हाल्न सकिनन् र आत्महत्याको बाटो रोजिन। लुकी अपराध संहिता–२०७४ को दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनसम्बन्धी कसुर गरेमा कैद र जरिवाना हुने कानुनी व्यवस्था छ ।