तालिवानीले भन्यो, ‘अब कुनै सम्झौता हुँदैन’



काठमाडौँ। अफगानिस्तानमा बिग्रँदो अवस्थाबीच युद्धविरामको अन्तर्राष्ट्रिय अपिललाई तालिबानले अस्वीकार गरेको छ। तालिबानले पछिल्लो समय अफगानिस्तानका एकपछि अर्को मुख्य सहरहरूमा कब्जा जमाइरहेको छ।

मिडिया रिपोर्टका अनुसार हालसम्म अफगानिस्तानले ६ वटा प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भइसकेको छ। यसमध्ये कुन्दुज निकै महत्त्वपूर्ण रहेको छ। यसबीच अमेरिकी र अफगान विमानले विद्रोहीमाथि कयौँ हवाई हमला गरेका छन् । अफगान अधिकारीहरूका अनुसार यस हमलामा दर्जनौँ तालिबान लडाकु मारिएका छन्।

उता, तालिबानका एक प्रवक्ताले आइतबार अलजजिरा टिभीसँग कुराकानी गर्दै अमेरिकालाई थप कारबाही नगर्न चेतावनी दिएका थिए । आइतबार उत्तरी अफगानिस्तानका तीन सहरमा मात्र केही घण्टाको अन्तरमा तालिबानले कब्जा जमाएको थियो ।

कुन्दुजका एक स्थानीयका अनुसार त्यहाँको स्थिति ‘पुरै अराजक’ भएको बताए । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा तालिबान लडाकु कुन्दुज र सर–ए–पुलको सरकारी भवनमा प्रवेश गरेको देख्न सकिन्छ । यद्यपि, ती भिडियोको स्वतन्त्ररुपमा पुष्टि भएको छैन ।

यसबीच अफगान सरकारका अनुसार विशेष सुरक्षा बल अझै पनि कुन्दुजमा तालिबानसँग लडिरहेका छन् । तालिबानका एक प्रवक्ताले बीबीसीसँग कुरा गर्दै अब उनीहरूले बगलान प्रान्तको राजधानी पुल–ए–खुमरीलाई निशाना बनाउने तयारी गरेको जानकारी दिएका छन् । पश्चिमको हेरात प्रान्तमा पनि भीषण लडाइँ जारी रहेको छ ।

सोमबार बिहान दक्षिणी सहर लश्करगाहको प्रहरी मुख्यालयको बाहिर ठूलो विस्फोटको आवाज सुनिएको थियो । लश्करगाहका स्थानीयका अनुसार पछिल्लो २ दिनमा कम्तीमा २० जना मारिएका छन् । त्यहाँ स्कूल र अस्पताल पनि ध्वस्त बनेका छन् ।

अमेरिकाले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै तालिबानको आक्रामकता बढी रहेको छ । तालिबानले पछिल्लो केही हप्तामा तीव्र गतिमा अफगानिस्तानमा कब्जा जमाइरहेको छ । ग्रामीण क्षेत्रलाई नियन्त्रणमा लिएको तालिबानले यति बेला मुख्य सहरहरूलाई निशाना बनाइरहेको छ।