काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई साधारण सदस्यताबाट निष्काषित गरेको छ।
आइतबार प्रेस विज्ञप्ती जारी गदै ‘कलाकार दुर्गेश थापालाई गीत प्रकाशन पूर्व नै ख्यास्स पुतली संसोधन गरिदिन लिखितम् अनुरोध गरिएकोमा निजले बिल्कुलै बेवास्ता गरी प्रतिष्ठानसँग आप्नो कुनै सम्बन्ध नरहेको हलुका स्पष्टिकरण दिएको हुनाले निजको साधरण सदस्य समेत नरहने गरी सदस्यता खारिज गर्ने निर्णय गरिएको छ’ जनाएको छ।
दुर्गेश थापाले केही समयअघि तीज गीतको नाममा ‘ख्यास्स पुतली’ गीत सार्वजनिक गरेका थिए। गीत सार्वजनिक भएसँगै तीजको मर्म विपरित उट्पट्याङ एवं भड्किलो गीत निकालेर सस्तो लोकप्रियता कमाउन खोजेको भन्दै उनको व्यापक आलोचना भएको थियो। विज्ञप्तीमा दुर्गेशको साधारण सदस्यसमेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको जनाईएको हो।
विधानत परिच्छेद ७० धारा २६ को उपधारा १ बमोजिम उनको सदस्यता खारेजको निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानअन्तर्गतको विकृति विसङ्गती न्यूनिकरण कार्यदलका संयोजक शिव हमाल र प्रतिष्ठानका महासचिव सुवास केसीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
प्रतिष्ठानले गीत सार्वजनिक हुनुपूर्व नै दुर्गेशलाई ‘ख्यास्स पुतली’शब्द संशोधन गर्न अनुरोधसहित पत्र पठाएको थियो। तर, दुर्गेशले अनुरोधलाई वेवास्ता गरी उक्त गीत सार्वजनिक गरेका थिए।