त्रिविका परिक्षा स्थगित नहुने



काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेका परीक्षाहरु स्थगित नहुने जानकारी दिएको छ।

हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेका छन्। परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने जानकारी दिएका छन्।

प्रेस नोटमार्फत जोशीले स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको र विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिने भएका कारण विद्यार्थीको संख्या कम भएको हुने जनाएका छन्।

त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने जोशीले बताए। परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेको र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

‘हाम्रो सबै परीक्षाको हिसाब गर्दा २०­/३० हजार विद्यार्थी छन्, धेरैजसोको परीक्षा सकिने क्रममा छन्’ उनले भने, ‘त्यसैले त्रिविले तोकेको सबै परीक्षा सञ्चालन हुन्छन् ।’

कोरोना महामारी फेरि बढ्न थालेको भन्दै शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। शुक्रबार स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठले परिक्षा स्थगित गर्न सिफारिस गरेका थिए।