काठमाडौँ। एमालेको माधव समूहले चारवटा प्रस्ताव पारित गरेको छ। शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले चारवटा प्रस्ताव पारित गरेको हो।
जसमा सर्वोच्च अदालतले संसद पुनःस्थापनाका लागि गरेको फैसलाको स्वागत, पार्टी एकताका लागि भएको १० बुँदे प्रस्ताव र वार्ता चलिरहेका बेला वरिष्ठ नेताहरूमाथि लगाइएका टिप्पणी र लान्छना लगाउने काम अमर्यादित भएको भन्दै बैठकले दुःख व्यक्त गरेको छ।
साथै त्यस्ता लान्छना लगाउने काम कतैबाट हुन नहुने भन्दै विचार व्यक्त गर्दा सम्पूर्ण पार्टी पंक्ति संयमित र जिम्मेवार हुन जरुरी रहेको भन्दै बैठकले ध्यानाकर्षण गराएको छ।
त्यस्तै तेस्रो प्रस्तावमा पार्टी एकताका लागि वार्ता चलिरहेको बेलामा सदस्यता नवीकरण, अधिवेशन संगठन पुनर्गठन जस्ता काम एकतालाई भाँजो हाल्ने भएको भन्दै संगठनात्मक काम रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।
त्यस्तै चौथो प्रस्तावमा सो समूहले अहिलेसम्म भएका १० बुँदे सहमतिहरूले एकताको आधार निर्माण गरेको भन्दै तिनको कार्यन्वयन गर्दै एकताका लागि थप निर्णय गर्न स्थायी समितिलाई जिम्मेवारी दिएको छ।