कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो



काठमाडौँ। नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको छ। मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ।

कोरोनाबाट नेपालमा २०७७ जेठ ३ मा पहिलो पटक मृत्युको घटना बाहिर आएको थियो। सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको थियो। उनी सुत्केरी थिइन्। उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २०७७ वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन्।

तर घर गएसँगै उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा उनको मृत्यु भएको थियो भने स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

नेपालमा कोरोनाको पहिलो केस भने २०७६ को माघ १० मा पुष्टि भएको थियो। चीनबाट नेपाल आएका विद्यार्थीमा कोरोना पुष्टि भएको थियो। हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये हालसम्म ६ लाख ६५ हजार ५४८ पुगेको छ भने मृतकको कुल संख्या १० हजार १९ पुगेको छ। हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन्।