विद्युत सर्टबाट कालिकोटमा आगलागी



काठमाडौँ। कालिकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ। मङ्गलबार अपराह्न ४ः ०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो।

विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमरराज सिम्खडाले जानकारी दिए। “घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो”, उनले भने, “घरले छाएको घर जलेर पूरै नष्ट भएको छ।”

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौं रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खडाले बताए। उनले भने, “घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुँडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन्।” घर जलेर नष्ट भएपछि सहदेवको ६ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिए।