विद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गर्न देउवाको ठाडो निर्देशन



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन्।

आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ। झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो। उनको काम सन्तोषजनक नभएको ठहरसहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो।

दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए। त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले नियुक्ति दिएको थिएन।

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले ठाडो निर्देशन नै दिएका हुन्।

घिसिङ प्राधिकरणबाट बिदा हुँदै गर्दा कलाकारहरुले ‘विद्युत प्राधिकरणमा कुमानकै खाँचो’ बोलको गीतहरुसमेत बजारमा ल्याएका थिए। सर्व साधारणहरुले कुलमानलाई दोस्रो कार्यकालका लागि किन नियुक्त नगर्ने? भन्दै सडकमा नाराहरु पनि लगाएका थिए।