ओलीका जनविरोधि काम खारेज गर्न देउवालाई झाँक्रीको सुझाव



काठमाडौँ। एमालेकी नेता तथा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्ववर्ति केपी शर्मा ओली सरकारका पालामा भएका जनविरोधि कामहरु खारेज गरेर अघि बढ्न सुझाव दिएकी छन्।

मंगलबार प्रतिनिधिसभाको वैठकको विशेष समयमा बोल्दै सांसद झाँक्रीले उक्त सुझाव दिएकी हुन्। उनले भनेकी छन्, ‘सर्वोच्च अदालतको फैसला र हाम्रो संघर्षले प्रतिनिधिसभा पुनःस्थापना भएको छ। यस अवस्थाले संसदले नयाँ सरकार दिन सक्छ भन्ने नजिर बसेको छ। संविधानको धारा ७६ को ५ को विकल्पको उपभोग भएको छ। त्यस कारण सबै माननीय सांसद र सरकारलाई बधाई दिन चाहन्छु।’

उनले अगाडि भनिन्, ‘सरकारले संविधानलाई सहि बाटोमा हिडाउने र लोकतन्त्रको रक्षा गर्ने मात्रै दायित्व बोकेको हुँदैन। पूर्ववर्ति सरकारका जनविरोधि कामहरु खारेज गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ।’ अघिल्लो सरकारले झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी गरेको निर्णय खारेज गर्नुपर्ने नेतृ झाँक्रीले बताइन्। उनले भनिन्, ‘झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्ग बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णय खारेज गर्नुपर्छ भनेर झापाको एउटा प्रतिनिधिमण्डल आएको थियो, यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

त्यस्तै उनले पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तुइन विस्थापित गर्ने काम सकियो भनेर हल्ला फिजाएको भन्दै महाकाली नदिमा वेपत्ता बनेका जयसिं धामीको न्यायका लागि मुखरित हुन सरकारलाई आग्रह गरेकी छन्।