माधव नेपाल जननेता हो: महेन्द्र यादव



काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री महेन्द्र यादवले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई जननेताको संज्ञा दिएका छन्।

नेता नेपालले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको यादवको भनाइ छ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो। संविधान, व्यवस्था र कानुनको रक्षाको लागि अडान लिनुभयो। अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाइट घट्दैन, बरु बढ्छ।’ उनले माधव नेपाललाई गिरिजाप्रसाद कोइरालासँग तुलना गरे। उनले भने, ‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपाल पनि त्यस्तै हुनुभएको छ।’

उनले माधव नेपाल समूह पनि ढिलो-चाँडो सरकारमा सहभागी हुने विश्वास दिलाए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सुनाए। उनले भने, ‘मन्त्रिपरिषद् विस्तार जतिबेला पनि हुनसक्छ। अब धेरै ढिलो हुँदैन। प्रधानमन्त्रीज्यू गठबन्धनमा आबद्ध दललाई विश्वासमा लिएर अघि बढ्न चाहनुहुन्छ। यो सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको हो। त्यसैले उहाँ सबैलाई समेटेर अघि बढ्न चाहनुहुन्छ। राष्ट्रिय सरकार नै बनाउन चाहनुहुन्छ।’

उनले प्रधानमन्त्री देउवा बन्ने बित्तिकै गच्छदारलाई उन्मुक्ति दिइएको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि स्पष्ट पारे। उनले भने,‘देउवाजी प्रधानमन्त्री हुने बित्तिकै गच्छदारले उन्मुक्ति पाएको होइन। अदालतप्रति हामीले विश्वास गर्नुपर्छ।’ उनले पार्टी सभापति देउवाले कहिल्यै पनि आलमलाई छुटाउने भनेर नभनेको पनि जिकिर गरे। उनले भने,‘भोलि आलम रिहा भए पनि यसलाई सरकारसँग जोडेर हेर्नुहुँदैन। हामीले अदालतलाई विश्वास गर्नुपर्छ।’