काठमाडौँ। राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन्।
उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको थियो। मुख्य प्रशिक्षकले यसरी बोल्नु अनुशासन उल्लंघन भएको भन्दै अखिल नेपाल फुटबल संघ ९एन्फाका० वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले कारबाहीको माग गरेका थिए।
प्रशिक्षक अल्मुताइरीले भने आफूले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ। त्यसप्रति म क्षमा चाहन्छु।’
उनले अघि भनेका छन्, ‘नेपाली जनता, विशेषगरी पूर्व खेलाडी र प्रशिक्षक वा जसले मेरो सोचबारे गलत बुझे, उनीहरु सबैप्रति क्षमाप्रार्थी छु।’ आफूले कोही कसैप्रति पनि गलत नियत नराखेको र नेपाली फुटबल टिमसँग जोडिन पाएकोमा खुसी रहेको समेत मुख्य प्रशिक्षक अल्मुताइरीले बताएका छन्।