काठमाडौँ। मोटोपना धेरै रोगहरुको मुल जरा हो। मोटोपनाले धेरै प्रकारका रोगहरुको शिकार बनाउँछ। तर, मानिसहरु सामान्यतयाः मोटोपनलाई समस्याको रुपमा लिने गर्दैनन्। जब मोटोपनाका कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु अपनाउन थाल्छन्। मोटोपनालाई कम गराउन लामो प्रक्रिया पूरा गर्नुपर्छ। बिहानको समयमा गरिने कतिपय बानीले तौल घटाउन मद्दत गर्छ।
उच्च प्रोटिनयुक्त नास्ता
दिनभरका लागि सबैभन्दा महत्वपूर्ण कुरा बिहानको नास्ता हुन्छ । बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । जसले गर्दा दिउँसोको खाना खाने समयसम्म भोक लाग्दैन । एक अध्ययनका अनुसार धेरै प्रोटिन भएको खानेकुरा खाने गर्दा बारम्बार भोक लाग्दैन । प्रोटिनको उच्च मात्राले घ्रेलिन हर्मोनको उत्पादन कम गर्छ । यसले भोक लाग्ने समस्या कम गर्छ । यसका लागि बिहानको नास्तामा अण्डा, दही, नट्स र चियाको सीड्स सामेल गर्नुपर्छ ।
धेरै पानी
बिहानको नास्ता गर्दा दुई गिलास पानी पनि पिउने गर्नुस् । पानीले शरीरमा शक्ति बढाउँछ । र, ६० मिनेटसम्म क्यालोरी पगाल्न मद्दतगार हुन्छ । दिनको सुरुवात पानी पिएर गर्ने गर्दा शरीर सुख्खा हुने समस्या हुँदैन भने तौल पनि तीव्र गतिमा घट्छ ।
तौल नाप्ने
हरेक बिहान तौल नाप्दा आफूलाई खानेकुरामा नियन्त्रण गर्न सकिन्छ । एक अध्ययनका अनुसार हरेक दिन तौल नाप्ने ४७ जनाको ६ महिनामा ६ किलो तौल कम भएको पाइएको छ । बिहान उठ्नेवित्तिकै तौल नाप्ने गर्दा तौल नियन्त्रणमा आउँछ ।
घाममा बस्ने
बिहान–बिहान थोरै समय घाममा बस्ने गर्नुपर्छ । सूर्यबाट आउने भिटामिन डिले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । भिटामिन डिले तौल घटाउनुका साथै बढ्न पनि रोक्छ । एक अध्ययनमा सामेल भएका २१८ जना महिलाले एक वर्षसम्म भिटामिन डि क्याप्सुल खाए । भिटामिन डिको सेवनपछि अन्य प्रक्रियाबाट तौल घटाउने महिलाको भन्दा ३ किलो तौल घटेको पाइएको थियो । हरेक बिहान कम्तिमा १० मिनेट घाममा बस्नुपर्छ ।
व्यायाम
बिहान उठेर व्यायाम गर्दा छिट्टै तौल घट्छ। बिहान व्यायाम गर्दा रगतमा चिनीको मात्रा पनि कम पाइन्छ । जसले गर्दा छिटो छिटो भोक लाग्ने समस्या आउँदैन।
खानामा ध्यान दिने
समयभन्दा अगाडि नै खाना खाने नगर्नुस्। त्यसैगरी, आफूले के के खाँदै हुनुहुन्छ त्यसमा पनि ध्यान दिनुस्। एक रात अगाडि नै भोलिपल्टको खानामा के के खाने भन्ने कुरा तय गर्नुस्। योजनाअनुसार खाना खाँदा शरीरमा बोसोको मात्रा कम हुन जान्छ र तौल पनि कम हुन्छ।
निन्द्रा
राति छिट्टै सुत्ने बानीले पनि तौल घट्छ। निन्द्रा र भोकबीच गहिरो सम्बन्ध हुन्छ। जो व्यक्ति राति धेरै समयसम्म अनिँदो रहन्छ उसले ननिदाउँदा सम्म केही न केही खाइरहेको हुन्छ। त्यसैले समयमा नै सुत्ने बानीले खाना छुट्छ। त्यस्तै, बिहान पनि छिट्टो उठ्ने गर्नुस् । बिहान छिट्टै उठेर व्यायाम गर्ने, नास्ता खाने र समयको ख्याल गर्ने गर्नुपर्छ।
शारिरीक सम्बन्ध
स्वास्थ्य विज्ञानका अनुसार बिहान शारिरीक सम्बन्ध राख्ने गर्नाले पनि मोटोपना घट्ने गर्दछ। साथै शारिरीक सम्बन्धले मानसिक र अन्य समस्याहरुको पनि निकारण गर्ने भएकाले बिहानको सेक्स सम्बन्ध स्वास्थ्यका लागि लाभदायी हुने विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन्।
साधनको प्रयोग
तौल घटाउन चाहानुहुन्छ भने सबैभन्दा सजिलो तरिका हिँड्ने, साइकलको प्रयोग गर्ने, सार्वजनिक यातायात प्रयोग गर्ने गर्नुपर्छ। कार प्रयोग गर्दा तीब्र गतिमा तौल बढ्छ। त्यसैले, आवात-जावत गर्दा सकेसम्म साइकलको प्रयोग गर्नु नै उचित हुन्छ।