हुमाको पहिलो गीत ‘नाच्छु घुमेर’ सार्वजनिक



काठमाडौँ। नवगायिका हुमा विकको स्वरमा ‘नाच्छु घुमेर’ बोलको मौलिक तीजगीत बजारमा आएको छ।

चर्चित गायिका टिका सानुको शब्द रचना तथा नरेश खातीको भाका रहेको गीतमा गायिका हुमाले आवाज दिएकी छन्। गीतमा मौलिकतासँगै बेलैमा रमाइलो गर्ने कुराहरु, उमेर फर्केर नआउने प्रसँगहरु समावेश गरिएका छन्।

नेपाली हिन्दु नारीहरुको महान चाँड हरितालिका तीज लक्षित ‘नाच्छु घुमेर’ बोलको गीतमा जन्मघरमा आउनलाई संजोग जुर्नुपर्ने देखि बुहारी जीवनका कठिनाइहरु, भोग्नुपरेका पीडाहरुलाई दृश्यमार्फत सन्देश प्रवाह गर्ने प्रयास गरिएको छ।

हुमाको पहिलो गीतका रुपमा आएको ‘नाच्छु घुमेर’ तीजभाकाका बारेमा गायिका टिका सानुले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘आज जीवनको अर्को सपना पूरा गरेकी छु। बहिनीलाई राम्रोसङ्ग पढ केही जागीर खोजम्ला भनेको। म पनि गायिका बन्छु भनिन्।’

उनले अगाडि लेखेकी छन्, ‘अनि हुन्छ तनि आफ्नो इक्षाले काम गर्निहो भने। कुनै दिन तिम्रो गीत रेकर्डिङ गराम्ला भनेकी थिए। प्यारी बहिनी हुमा बिकको एकल तीजगीत बजारमा आएको छ। एकचोटी हेरेर प्रतिक्रिया दिनुहोला है।’

अभाव, दुःख र संघर्षको मैदानबाट उठेकी तथा लोकप्रिय गायिकाको परिचय बनाएकी टिका सानुले बहिनीको सपनालाई यसपालीको तीजमा साकार पार्ने कोसिस गरेकी छन्। यसअघि हुमाले लाइभ दोहोरी गीतहरु गाउँदै आएकी थिइन्।

भिडियो हेर्नुहोस्