ओली-नेपाल शक्ति प्रदर्शनमा, पार्टी विभाजनतर्फ उन्मुख



काठमाडौँ। नेकपा एमालेका दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन्। तर, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख सुनिन थालेका छन्।

शनिबार अध्यक्ष ओली र नेता नेपाल छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएका थिए। दुवैले एकताभन्दा पनि विभाजन उन्मुख अभिव्यक्ति दिए। दुवै नेताका गतिविधिले अब एक ठाउँ बस्न नसक्ने झल्को दिन्थ्यो।

ओली शनिबार काठमाडौँ जिल्ला कमिटीको विस्तारित बैठकमा पुगे भने वरिष्ठ नेता नेपाल युथ फोर्सको समानान्तर रुपमा गठन गरिएको अखिल फोर्सको भेलामा गए।

ओलीले नेपाललाई पार्टीमा कुनै स्थान नरहेको स्पष्ट पारे भने नेता नेपालले स्वेच्छाचारीका विरुद्ध खरो रुपमा उत्रिने अखिल फोर्सलाई निर्देशन दिए। यसरी हेर्दा दुवै जना शक्ति प्रदर्शनमा लागेको स्पष्ट हुन्छ।