उपेन्द्र यादव पक्षलाई एकपछि अर्को सफलता



काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएसँगै यादवलाई नै संसदीय दलको नेता चयन गरेको छ। पार्टी एकता भएको वर्ष दिन बित्दासम्म पनि महन्त र उपेन्द्रले संसदीय दलको नेता चयन गर्न सकेका थिएनन्। तर, पार्टीको आधिकारिकता पाएसँगै उपेन्द्र पक्षले एकपछि अर्को पार्टीका बाँकी कामहरु अघि बढाइरहेको छ।

पछिल्लो घटनाक्रमले उपेन्द्र यादवलाई राजनैतिक हिसावले लाभ मिल्दै गएको छ। यता आधिकारीकता पाउनबाट बन्चित महन्त ठाकुर भने पचास वर्ष लामो राजनैतिक जीवनको उत्तरार्धमा दलविहिन हुन् पुगेका छन्।

२०७७ साल बैशाख १० गते मध्यरात यादव नेतृत्वको समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भएको थियो। प्रधानमन्त्री केपी ओलीले अध्यादेश मार्फत राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुटाउने प्रयास गरेपछि रातारात दुई पार्टीबीच एकता भएको थियो।

तत्कालिन सत्तारूढ नेकपा एमाले विवादग्रस्त भइरहँदा सोही पार्टीको सरकारलाई हेर्ने दृष्टिकोणलाई लिएर जसपाभित्र लामो समय बिवाद चल्यो। त्यही बिवाद कायम रहदा अन्तमा बिभाजन नै हुन पुग्यो। एकतापछि नेपालको चौथो राजनीतिक शक्ति दाबी गर्ने यो दल एउटा निर्वाचनमा पनि सहभागी हुन नपाउँदै दुई चिरामा विभाजित भएको छ।

उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन आयोगमा निवेदन दिएको थियो। आधिकारिकता पाएसंगै जसपाले संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो।

बैठकमा २० जना प्रतिनिधि सभाका सांसद उपस्थित थिए। यादवलाई दलका नेतामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए भने महेन्द्र यादवले सर्मथन गरेका थिए। निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवाद निरुपण गरिदिएपछि जसपाले दलको नेता चयन गर्नुका साथै केन्द्रिय निर्वाचन समिति समेत चयन गरको छ।

जसमा नवराज सुबेदीको संयोजक छन भने शुशिला श्रेष्ठ र रमेश यादव सदस्य छन्। एकताको लामो समय सम्म पनि आन्तरिक विवादकै कारण दलको नेता चयन गर्न सकेको थिएन। पार्टीमा बिवाद कायम रहेकै बेला गत वैशाख ३० गते महन्थ पक्षले राजेन्द्र महतोलाई दलको नेतामा चयन गरेको थियो। १९ सांसदको हस्ताक्षर रहेको दाबी गरिएको थियो।

अध्यक्ष ठाकुरले संघीय संसदीय दलको विधान–२०७७ अनुसार संसदीय दलको नेतामा राजेन्द्र महतोलाई निर्वाचित गरेको व्यहोरा जानकारी गराएका थिए। तर, त्यसले आधिकारिकता पाउन सकेन त्यसयता बिवादको श्रृंखला चल्यो। यादव पक्षले आधिकारिकता पाइसके पछिको पहिलो बैठकले जसपाबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरिसकेको छ।

उता आधिकारीकता पाउनबाट बन्चित महन्त ठाकुर भने पचास वर्ष लामो राजनैतिक जीवनको उत्तरार्धमा दलविहिन हुन पुगेका छन्। साउन ११ गते पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि महन्त पक्ष निर्वाचन आयोगको निर्णय प्रति असन्तुष्ट छन्। आयोगको निर्णयको बिरोधमा सर्बच्चोको ढोकामा पुगेका छन्।