उकालो लाग्दै कोरोना ग्राफ, ३८ सय ४० संक्रमित, ३३ को मृत्यु



काठमाडौं। देशभर पछिल्लो समय थप तीन हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार १५ हजार ८ सय ८ जनाको कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने एक हजार ९ सय ९३ जना कोरोनामुक्त भएको उनले जानकारी दिए। काठमाडौंमा पाँच सय ५९, भक्तपुरमा ९४ र ललितपुरमा दुई सय ६ जना गरी उपत्यकाभित्र ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।

साउन महिनाबाट कोरोना संक्रमण बढेको अधिकारीको भनाइ छ। गत मंगलबार तीन हजार ८ सय ९९ जना, सोमबार तीन हजार चार सय २१ जना, आइतबार दुई हजार दुई सय ३७, शनिबार तीन हजार एक सय १४ जना संक्रमित भेटिएका थिए।

त्यस्तै, शुक्रबार दुई हजार ९ सय ७७ जना, बिहिबार दुई हजार सात सय १४ जनामा कोरोना संक्रमण भएको थियो। बुधबारको संक्रमितसहित कुल एक सातामा २२ हजार दुई सय दुई जनामा संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ।