माओवादी केन्द्रको लेटरप्याड र प्रचण्डको हस्ताक्षर दुरुपयोग



काठमाडौँ। नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ।

माओवादीले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर ‘मन्त्रिमण्डल विस्तार’ बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेको छ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले केही अपराधिक, अराजक एवं प्रतिगामी तत्वहरुले माओवादीलाई बदनाम गर्ने उदेश्यले मन्त्रिमण्डल विस्तारबारे कुप्रचार गरेको भन्दै त्यसमा संलग्नहरूलाई कडा कारवाहीको माग गरेका हुन्।

‘केही समययता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरूलाई बदनाममा गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेका छन्’, माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु, र आम जनसमुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ।’

माओवादी पार्टीको नक्कली लेटरप्याड, प्रचण्डको हस्ताक्षरसहित बैठकको निर्णय भन्दै सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको थियो।