काठमाडौँ। अन्ततः जनता समाजवादी पार्टीका केही सांसदहरुको पद धरापमा परेको छ।
अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव पक्षको खिचातानिमा अल्झेको जसपाको कार्यकारिणी सभाका सदस्यहरुको हेड काउन्टबाट विवादको निरुपण गरिएको छ। निर्वाचन आयोगले सोमबार पार्टीका कार्यकारिणी सदस्यहरुको दस्तखत संकलन गरेर बिबाद समाधान गरेको हो। उपेन्द्र पक्षले पार्टीको आधिकारिकता प्राप्त गर्यो।
खासगरी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कारण विभाजित बनेको जसपा कमजोर अवस्थामा पुगेको छ। ओलीले पहिलो पटक (२०७७ पुस ५) संसद विघटन गर्दा एकमत देखिएको जसपा दोस्रो पटक (२०७८ जेठ ८) ओलीले संसद विघटन गर्दा भने एक रहन सकेन।
उपेन्द्र पक्ष संसद विघटनको विरुद्धमा उभियो भने महन्त पक्ष संसद विघटन गरेका ओलीको साथरी बन्न पुग्यो। त्यहि कारण बन्यो जसपा विभाजन। महन्त पक्ष ओली सरकारमा सहभागिसमेत बन्यो। तर, अदालतले जसपालगायत ओलीले अन्तीम पटक विस्तार गरेको मन्त्रीपरिषदका सबै सदस्यहरुलाई अपदस्त गर्यो।
यता उपेन्द्र यादव पक्षले सत्तारुढ गठबन्धनलाई साथ दियो। असार २८ गते सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्न अन्तरीम आदेश दियो। २९ गते देउवालाई संविधानको धारा ७६ को ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरिन्।
यहि साउन ३ गते संसदमा प्रमले विश्वासको मत लिदाको समयमा भने जसपामा फरक दृश्य देखियो। महन्त पक्षले समेत देउवालाई विश्वासको मत दियो। भलै त्यसको महत्व धेरै नभएपनि संसदीय शासन व्यस्वस्थामा संख्याको भूमिका अह्म हुन्छ नै।
यसरी प्रमुख राजनीतिक दलको स्वार्थमा विभाजित बनेको जसपा आफै कमजोर बन्यो। एमालेका अध्यक्ष ओली पक्षीय नेताहरुले कांग्रेस र माओवादीलाई माधव नेपाल पक्षका सांसदहरुलाई फुटाएर सत्ता गठन गरेको प्रश्न गर्छन्। तर, आफ्नो कार्यकालमा जसपालाई फुटाएर सत्ता जोगाउने प्रयास गरेको कुरालाई भने भुल्ने गरेको देखिन्छ।
महन्त ठाकुरलाई सत्तापक्ष गठनबन्धले तत्कालिन समयमा प्रधानमन्त्रीको अफरसमेत गरेका थिए। तर, महन्तले ओलीको साथ छोड्न मानेनन्। महन्तको पक्षलाई विश्वासमा राख्न ओलीले आफ्नो कार्यकालको अन्त्यमा आएर जसपाका केही मागहरुसमेत पूरा गरेका थिए।
ओलीको ललिपपमा भुलेका महन्तले प्रम बन्ने अवसर पनि गुमाए। त्यति मात्रै होइन, ओलीलाई छोड्न नसक्दा पार्टीमा अल्पमतमा परे। सोमबार निर्वाचन आयोगमा जेदृश्य देखियो त्यो अवस्थाले महन्तलाई कमजोर देखाइरहेको थियाे। साउन ३ गते डा. बाबुराम भट्टराईले महन्तलाई इंगित गर्दै मधेश पहिलो पटक प्रम बन्ने अवसर पाउदा पनि उपभोग गर्न नसकेको बताएका थिए। साथै उनले खानेबेला सिस उठ्ने कुराको प्रसँग उठाएका थिए।
त्यतिमात्रै होइन, जसपामा अनुभवि र पाका राजनीतिकर्मीहरुकाे सहभागितालाई लिएर नयाँ बहस र समिक्षा भइरहेका थिए। तर, जसपाको महन्त पक्षले गरेको गल्तिका कारण एकाध वर्षपछि उक्त पार्टी थ्रेस होल्डको सिकार हुने सम्भावना पनि उक्तिकै देखिन्छ। जसपा फुटेसँगै ठूला दलका लागि मधेस फलिफाप हुने देखिन्छ।
महन्तले नयाँ पार्टी खोल्नुपर्ने
आयोगले महन्थ पक्षलाई आधिकारिकता नपाएको र कानून बमोजिम नयाँ पार्टी दर्ता गर्न सक्छौ भनेको छ। ठाकुर पक्ष नयाँ पार्टी दर्ता गर्ने निर्णयमा पुग्यो भने दर्ताको प्रक्रिया कम्तिमा एक महिनासम्म लाग्नसक्छ।
पार्टी दर्ता गरेर नयाँ पार्टी जन्माइसकेपछि उपेन्द्र पक्षले ठाकुर पक्षका सांसदलाई स्पष्टीकरण सोध्न सक्नेछ। मूल पार्टीमा फर्किन भन्यो तर, स्पष्टीकरण चित्त बुझ्दो जवाफ नआएमा सांसद पदबाट मुक्त गर्न सक्नेछ।
त्यसपछि उनीहरुको सांसद पद रिक्त बनाइदिनु भनेर पार्टीले संसद सचिवालयलाई पत्र लेख्न सक्नेछ। र, महन्थ पक्षका सांसद पद रिक्त भएको घोषणा संसद सचिवालयले गर्नसक्छ।