एमालेको अन्तरविरोध: अन्तर्राष्ट्रिय समितिमा बाजाबाज



काठमाडौँ। आइतबार बिहान ११ बजे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो। दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापना भएपछि समितिको पहिलो बैठक अलि रोचक बन्यो।

पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव नेपाललाई अधिकांश सदस्यहरुले धन्यवाद दिएका थिए। प्रतिनिधिसभा पुनःस्थापनाका लागि महत्वपूर्ण योगदान दिएका नेपाललाई समितिका सदस्यहरुले प्रशंसा र धन्यवाद दिदै गर्दा एमाले अध्यक्ष केपी ओली निकट सांसद नारदमुनि राना बैठकमा पुगेपछि भने माहोल परिर्वतन भयो।

बैठकमा एमालेकै सांसद पुष्पा कुमारी कर्णपछि बोल्ने पाएका एमालेका सांसद रानाले कर्णको भनाइप्रति आपत्ति जनाउँदै अहिलेको संसद् र सरकार सर्वोच्च अदालतको परमादेशले बनाएको बताए।

उनले संसद् र सरकार परमादेशबाट बनेको भन्दै जनमतको कुरा नगर्न चेतावनी दिएपछि एमाले वरिष्ठ नेता नेपाल आक्रोशित भए। उनले ‘तपाईँ प्रतिगमनको मतियार बन्ने’ भन्दै आक्रोश व्यक्त गरे। नेपालले नारदमुनिलाई प्रतिगमनको मतियार बन्ने भए सांसदबाट राजीनामा दिएर बैठक कक्षबाट बाहिर जान आग्रह गरे। उनले सांसद रानालाई चोर औँला देखाएर भने–‘तपाई प्रतिगमनको मतियार बन्ने? प्रतिगमनको मतियार भएर बोल्न पाइँदैन । तपाईँ राजीनामा दिनुस्, निस्कनुस्।’

समिति सभापति पवित्रा निरौला खरेलले सांसद रानालाई विषय प्रवेश गरेर बोल्न आग्रह गरिन्। तर सांसद राना, काँग्रेस, एमाले र माओवादी केन्द्रका सांसद रोकिएनन्। एमालेकै सांसद दीपक प्रकाश भट्टले आक्रोशित हुँदै सांसद रानालाई समितिमा बस्ने कुनै अधिकार नभएको भन्दै बाहिर जान आग्रह गरे। सांसदहरूको सो भनाइपछि सांसद रानाले आफूले विषय केन्द्रित हुँदै बोलेको दाबी गर्दै बैठकमा आउन मलाई किन खबर गरेको त भन्दै प्रश्न गरे।

सभापति खरेलले सबै सांसदलाई बैठकको मूल विषयवस्तुमा केन्द्रित हुन् र आगामी दिनमा यो विषयमा विवाद नगर्न आग्रह गर्दै लामो मन्तव्य दिन थालेपछि एमाले वरिष्ठ नेता नेपाल, सांसद नारदमुनि राना, सुदन किराँती लगायत बैठकबाट बाहिरिएका थिए।