कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने



काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समतीले मंगलबार साउन १२ मा अन्तिम प्रतिवेदन बुझाउने भएको छ।

पूर्वनिर्धारित कार्यतालिकाभन्दा ढिलो गरी प्रतिवेदन बुझाउन लागेको लागेको समितिले देशभर करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिश गरेको छ।

समिति प्रवक्ता प्रदीप पौडेलले मंगलबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रियाशील सदस्यताको प्रतिवेदन बुझाउने जानकारी दिए। ‘हामीले आफ्नो काम सकेका छौं’, उनले भने, ‘केही ठाउँबाहेक समितिले सर्वसम्मत रुपमा सहमति गरेर सदस्यतालाई टुंग्याएका छौं।’

सबैभन्दा बढी विवादित प्रदेश दुईका सप्तरी र बारा जिल्लाको क्रियाशील सदस्यतामा समितिले सहमति जुटाउन सकेन। समिति प्रवक्ता पौडेलले समितिमा सहमति जुट्न नसक्दा बारा र सप्तरीमा नयाँ र समायोजनलाई स्थगन गर्न सिफारिस गरिएको छ। ‘यी दुई जिल्लामा निकै समस्या देखियो। विवाद पनि जटिल खालको भएकाले यसपटक नयाँ र समायोजनलाई हामीले स्थगन गर्ने निर्णय गरेका छौं’, उनले भने, ‘अब बारा र सप्तरीको हकमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट महाधिवेशन प्रक्रिया अगाडि बढ्छ।’

त्यस्तै समायोजनको विषयमा सिन्धुपाल्चोक र रसुवामा विवाद देखिएको छ। समितिले यी दुई जिल्लाबारे निर्णय गर्न केन्द्रीय पदाधिकारीलाई सिफारिश गरेको हो।

त्यस्तै धनुषा क्षेत्र–४ मा पनि विवाद देखिएको छ। त्यहाँ १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई लिएर विवाद कायमै भएकाले नयाँ र समायोजनमा पनि विवाद देखिएको हो।

सर्लाही क्षेत्र नं. २ मा समायोजनका विषयमा देखिएको विवाद कायमै रहेपछि १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिइएको छ। सर्लाही–२ मा तत्कालीन राजपाका नेता जंगीलाल यादव कांग्रेस प्रवेश गरेका थिए। उनलाई दिइएको क्रियाशील सदस्यताका विषयमा अर्को पक्षले असन्तुष्टि जनाएको हो। बाराका केही नेता कार्यकर्ताहरु करिव १५ दिनदेखि पार्टी कार्यालय सानेपामा धर्नामा छन्।

समिति प्रवक्ता पौडेलका अनुसार देशभर करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिने प्रतिवेदनमा उल्लेख छ। कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५३ हजार पुगेको छ। त्यसमध्ये करीब १२ हजार नयाँ र समायोजनको सदस्यता स्थगन गरिएको छ भने ३५ देखि ४० हजारले सदस्यता नवीकरण नगरेको समितिले जनाएको छ। विभिन्न देशमा रहेका कांग्रेस निकट जनसम्पर्क समितिको क्रियाशील सदस्यता सूची अझै समितिसँग आएको छैन।

क्रियाशील सदस्यताको काम समयमै नटुंगिदा कांग्रेस महाधिवशेन कार्यतालिका प्रभावित भइसकेको छ। १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ। अन्य स्थानीय अधिवेशनको पनि कार्यतालिका प्रभावित भइसकेको छ। कांग्रेसले नयाँ कार्यतालिका भने सार्वजनिक गरेको छैन। कांग्रेसको १४औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो।