‘हाम्रा साथीहरुको चिन्ता मन्त्री पदमा छ’



काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका सबै सांसदको आफूलाई मन्त्री बनाउन भन्दै दबाब दिएको खुलासा गरेका छन्।

कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सांसदको मन्त्री बनाउन दबाब आएको उल्लेख गरे।

उनले भने–‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो। यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ। या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ। तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु। मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ। हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ।’

उनले अहिले पद चाहिने संस्कृति विकास हुँदै गएको बताउँदै नरबहादुर कर्माचार्य कहिल्यै पनि पदको पछि नलागेको उल्लेख गरे। सरल, सहज र निःस्वार्थ भावको नेता रहेको बताउँदै नेता कर्माचार्यसँगै छलफल गरेर आफूले जनयुद्धको थालनी गरेको पनि अध्यक्ष प्रचण्डले बताए।

उनले अहिले सङ्घर्षबाट प्राप्त भएको सबै उपलब्धि गुम्ने हो कि भन्ने अवस्थामा पुगेको बताउँदै संविधान, व्यवस्था मास्ने षडयन्त्र भएको उल्लेख गरे। उनले एकपछि अर्को गर्दै एकता गरेको पार्टीका नेता केपी ओलीबाट प्रतिगमनकारी घटना भएको बताउँदै ओलीले गरेका हरेक प्रतिगामी र प्रतिक्रान्तिकारी कामलाई तमाम देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले साथ दिएको बताए।

उनले भने–‘उनीहरूले ठाने क्रान्तिकारी पार्टी विभाजित छ, तिनका नेता र कार्यकर्तामा फ्रस्टेसन छ, बिचार र नेतृत्वप्रतिको आस्था र विश्वास घट्दै गएको छ, त्यस कारण यही बेला यिनीहरूलाई सिध्याउन सकिन्छ भन्ने ठानेर निकै ठुलो मोर्चाबन्दी एकातिर देखापर्यो। अर्कोतिर हामी थकित जस्ता, उत्साहहीन जस्ता, जोस जाँगर हराएका जस्ता देखियौँ। खतराको घण्टी बजिरह्यो। जीवन मरणको अवस्था आयो हामी माओवादीहरूका लागि। यसलाई परास्त गर्न जे गर्न सकिन्छ त्यो गरौँ भनेर हामी नेतृत्व तहबाट लाग्यौँ।’

प्रतिगमन परास्त पार्न सडक र जनतामा जानुको विकल्प नभएकोले पुरै शक्ति र इमानदारिताका साथ आन्दोलनमा गएको अध्यक्ष प्रचण्डले बताए। सर्वोच्च अदालतले जनभावना अनुसार फैसला गरेकोले जनताको जीत भएको उल्लेख गरे।