चितवन। ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारी प्रकरणमा नयाँ ट्वीस्ट आएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा प्रहरीले सुजिताका ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ। सुजिताको ठुलो बुवाको छोरा सुकदेव भण्डारीलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्यबहादुर थापाले रातोपाटीलाई बताए।
नातामा सुकदेव र सुजिता दाजु–बहिनी हुन्। तर, उनीहरुको बीचमा प्रेम सम्बन्ध थियो। हाडनाता भित्रको सो अफेयर आत्महत्याको कारण बनेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। मृतकका परिवारले सुकदेवविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन्। असार २० मा सुजिताको शव चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा फेला परेको थियो । घटनास्थलमा विषदीको बट्टा पनि भेटिएको थियो।
काठमाडौंमा लिभिङ टुगेदर
सुकदेव काठमाडौंमा बस्थे। २०७७ फागुनमा काठमाडौं आएकी सुजिता दिदिकोमा १० दिन बसेर चितवन फर्केकी थिइन्। त्यसपछि चैतमा फेरि उनी काठमाडौं आइन्। रेष्टुरेण्टमा काम गर्ने सुकदेव र सुजिता काठमाडौंमा फ्ल्याटमा केही समय सँगै बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सँगै बस्न थालेपछि सुजिताले विवाह गर्न दवाव दिइन्।
‘बिहे गरौं नत्र मरिदिन्छु’ भनेर सुजिताले दवाव दिएपछि सुकदेवले उनलाई फकाएर चितवन पठाएका थिए। चितवन जानुअघि दाजु–बहिनीको बीचमा ‘अपहरण’ मा परेको कथा बनाएर सुटुक्क विवाह गर्ने योजना बनेको थियो। सो योजनाअनुसार सुजिता चितवन गइन् । ०७८ असारमा सुजिता फेरि काठमाडौं आउन खोजेकी थिइन्। सुकेदेवले मानेनन्।
काठमाडौं आउने र विवाह गर्ने विषयमा झगडा गरेपछि सुकेदेवले सुजितालाई ‘मरे पनि फरक पर्दैन’ भनेर म्यासेज पठाए । झगडापछि घरबाट हिँडेको १० दिनपछि सुजिताको शव असार २० मा फेला परेको थियो। सुजिता र सुकदेवको परिवार दोलखाबाट चितवन झरेको थियो। करिब ३ वर्षदेखि उनीहरु गहिरो प्रेममा थिए। चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको भि–सेरा परीक्षणका लागि राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टमा पठाइएको छ।
असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी गराएको परिवारले दाबी गरेका छन्।