सुर्खेत। मध्यपश्चिम विश्वविद्यायले आज शुक्रबारदेखि सञ्चालन गर्ने भनेको मौका परिक्षा स्थगित गरेको छ।
संयुक्त विद्यार्थी संगठनले जारि राखेको आन्दोलनका कारण विश्वविद्यालयले आज (शुक्रबार) देखि हुने मौका परिक्षा स्थगित गरेको हो। मानविकी र समाजशास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षा शास्त्र संकाय अन्तरगत स्नातक तहको आठौं सेमिष्टारको मौका परिक्षा स्थगित गरेको एक विज्ञप्तिमार्फत जानकारि दिएको हो।
त्यस्तै मप विश्वविद्यालयमा आन्दोलनरत संयुक्त विद्यार्थी संठगनका नेताहरुले शुक्रबार पनि प्रदर्शन जारी राखेका छन्। अनेरास्ववियूकी नेता ममता अधिकारीका अनुसार आफूहरुले उठाएका मागप्रति विश्वविद्यालय प्रशासन सकारात्मक भएको छैन।
नेता अधिकारले भनिन्, ‘विश्वविद्यालयले हाम्रा मागहरुको सुनुवाई गरेको छैन। हामीले एक हप्ता पहिले १८ बुँदे माघ अघि सारेका थियौं। कोरोना महामारीको जोखिम टरि नसकेको अवस्थामा भौतिक उपस्थितिमा परिक्षा लिने कुरा गलत छ।’
उनले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा भनिन्, ‘ विद्यार्थीहरुको जीवनमाथि खेलवाड गर्ने काम हो। वैकल्पिक विधिबाट परिक्षा लिन वा परिक्षार्थीहरुलाई भ्यासिन दिनुपर्छ भनेका छौं। त्यसको अलवा छात्रवृत्तिका विषयमा, लकडाउन अवधिको शुल्क मिनाहाको कुरा, समयमै स्ववियू निर्वाचनको कुरा अघि सारेका छौं।’
तस्बिर: ममता अधिकारीको फेशबुकबाट