रेशम चौधरीलाई आयोगमा उपस्थित गराउन माग



काठमाडौँ। जनता समाजवादी पार्टीको आन्तरिक विवादको छिनोफानो यहि साउन ११ गते हुँदैछ।

जसपा नेपालको विवाद समाधान हुने भनिएको ११ गते उक्त पार्टीका कार्यकारिणी सदस्यहरुको हस्ताक्षेरलाई आधार मान्ने बताइएको छ। ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३१ जना र महन्थ ठाकुरको पक्षमा २० जना रहेका छन्। अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उप्रेन्द्र यादव पक्षले आन्तरिक कसरतलाई तीव्र बनाएको छ।

आयोगमा बहसको क्रममा ठाकुर पक्षका अधिवक्ताहरूले कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमा सनाखत गराउने हो भने जेलमा रहेका रेशम चौधरीलाई पनि उपस्थित गराउनुपर्ने माग राखेका छन्।

यसअघि चौधरीलाई राज्यले नै थुनाबाट निकालेर सिंहदरबारमा सांसदको सपथ ग्रहण गराएको तथा पार्टी एकीकरणका लागि जेलबाट नै हस्ताक्षर गराएर ल्याइएको बताउँदै अधिवक्ताहरूले यदि कार्यकारिणी सदस्यको सनाखत हुने अवस्था आयो भन उनलाई पनि उपस्थित गराउनुपर्ने जिकिर गरेका छन्।

आयोगले पार्टीको आधिकारिकता विवाद सुल्झाउनका लागि एकताको क्रममा कायम गरिएको कार्यकारिणी समितिका सदस्यलाई नागरिकताका साथ उपस्थित हुन आदेश दिएको छ। तर, जेलमा रहेका रेशम चौधरीको बारेमा भने आयोगले केही बोलेको छैन।