‘कोरोना महामारीले हामीलाई आत्मनिर्भर बन्न उत्प्रेरित गरेको छ’



काठमाडौँ। कोरोना महामारीबाट थिलथिलो बनेको अर्थतन्त्रलाई उकास्न सरकारले राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने भएको छ।

बुधबार अर्थमन्त्री जनार्दन शर्माले कोरानाबाट प्रत्यक्ष असर परेको अर्थतन्त्रलाई उकास्न सरकारले छिटै राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने जानकारी दिएका छन्।

नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले उक्त जानकारी दिएका हुन्। उनले भने, ‘हामीले कोरोना महामारीले सिकाएको पाठ भनेको हामी आत्मनिर्भर बन्नुपर्छ। राजनीति होस् या आर्थिक क्षेत्रमा होस् हामीले एकतावद्ध रुपमा अघि बढ्नुपर्छ। आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती छन्। त्यसका लागि सरकारले आवश्यक सम्भावनाका विषयमा छलफल गरिरहेको उचित सल्लाह सुझावका आधारमा काम गर्नुपर्नेछ। प्रधानमन्त्रीको निर्देशनमा आर्थिक राहत प्याकेज ल्याउने तयारी हुँदैछ।’

उनले यसअघिका उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नुपर्ने आवश्यकता रहेको औंल्याए। मन्त्री शर्माले स्वदेशमा उत्पादन भएका सामग्रीहरुलाई स्वदेशमा उपयोग गरेर देशको अर्थतन्त्रलाई माथि उठाउन सकिने धारणा व्यक्त गरे। सिएनआइले घोषणा गरेको मेक इन नेपालको खुलेर प्रशंशा गरे।

रोजगार बृद्धि तथा अर्थतन्त्र सुदृढका लागि मेक इन नेपाल उपयोगी सावित हुने उनले बताए। कार्यक्रममा विनोद चौधरी, नीति आयोग भारतका प्रमुख अधिकृत अमिताभ कान्त र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति थियो।