उपकुलपतिको पुत्ला दहनसहित राँके जुलुस प्रदर्शन



सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा.नन्दबहादुर सिंहले हजारौं विद्यार्थीकाे जीवनमाथि खेलवाड गरेको भन्दै विद्यार्थी संगठनहरुले बिरोध जनाएका छन्।

मंगलबार आन्दोलनरत विद्यार्थी संयुक्त विद्यार्थी संगठनले उपकुलपति र रजिस्ट्रारको पुत्ला दहनसहित राँके जुलुस प्रदर्शन गरेका थिए। उपकुलपतिको नालायकी पनका विरुद्ध आन्दोलन गर्नुपरेको अनेरास्ववियू क्रान्तिकारीकी नेता ममता अधिकारीको भनाई छ।

अधिकारीका अनुसार विश्वविद्यालयमा अध्ययनरत हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न खोजिरहेको आरोप लगाउँदै विद्यार्थीहरू चरणबद्ध आन्दोलनमा हाेमिएका हुन्।

विश्वविद्यालय परिसरमा ‘नालायक भिसी चाहिँदैन, विद्यार्थीको भविष्य बिगार्न पाइँदैन, भिसी चोर विश्वविद्यालय छोड, संयुक्त विद्यार्थी आन्दोलन जिन्दाबाद’ लगायतका नाराहरू लगाएर विद्यार्थी नेताहरूले आन्दोलन गरेका थिए।

संयुक्त विद्यार्थीको सङ्गठनले गत आइतबार १८ बुँदे माग पत्र विश्वविद्यालयलाई राखेका थिए। उक्त मागहरुको सुनुवाई नभएपछि आन्दोलनमा उत्रेको विद्यार्थी नेताहरुको भनाई छ।