नेपाल पक्षले स्पष्टीकरण नदिने



काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ।

सोमबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

​एमालेको उक्त निर्णयपछि सोमबारै बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको जवाफ दिने कि नदिने ? भन्ने विषयमा छलफल भएको थियो। छलफलमा जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको थियो।

असार २८ गते सर्वोच्चले संसद पुनःस्थापना गर्दै संविधानको धारा ७५ को ५ लाई ब्याख्यासमेत गरेको थियो। उक्त ब्याख्या अनुसार ७६ को उपधारा ५ मा सांसद स्वतन्त्र हुने, पार्टीको ह्वीप नलाग्ने र कारबाही पनि गर्न नपाउने भनेर ब्याख्या गरिएको थियो। सोही अधिकारअनुरार नै नेपाल पक्षले स्पष्टीकरण नदिने बताएको हो।