काठमाडौँ। जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष साउन १० गतेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।
जसपाले यही साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने गरी तयारी थालेको जनाएको छ। नेपाली कांग्रेसको गठबन्धन सरकार बनाउन सुरुदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको जसपा यादव समूहमा कसलाई मन्त्री बनाउने ? भन्नेबारे छलफल भइरहेको छ।
नेता मोहम्मद इस्तियाक राईले भने, ‘सरकारमा कसरी सहभागी हुने, को को जाने भन्नेमा पार्टीमा छलफल चलिरहेको र १० गतेपछि मात्रै टुङ्गो लाग्नेछ।’
सरकार गठनबारे छलफलका लागि मंगलबार बिहान जसपा अध्यक्ष यादव, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भएको थियो।
मंगलबारै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ। त्यस्तै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ।
त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका जसपाको ठाकुर समूहले भने सरकारमा सहभागी हुने नहुनेबारे अहिलेसम्म कुनै जानकारी दिएको छैन।