काठमाडौँ। नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी मानिएका रामचन्द्र पौडेलसहितका नेताहरुले देउवा सरकारलाई सफल तुल्याउन एकजुट भएका छन्।
सोमबार कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा देउवा इतर पक्षका नेताहरुको बैठकले राष्ट्रिय संकटको समाधान गर्ने दायित्व कांग्रेसकै काँधमा परिस्थितिले सुम्पिएको भन्दै वर्तमान सरकारलाई सफल तुल्याउन भूमिका निर्वाह गर्ने निर्णय गरेको हो।
उनीहरुले देउवा नेतृत्वको सरकारको सफलता नै कांग्रेसको सफलता हुने भन्दै सरकारलाई सफल तुल्याउन आफूहरुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
गत जेठ ८ गते अघिल्लो सरकारका प्रधामन्त्री केपी ओलीले संसद विघटन गरेका थिए। असार २८ गते सर्वोच्च अदालतले सभापति देउवालाई प्रधानमन्त्री तोक्ने परमादेश जारी गरेको थियो। साउन ३ गते संसदमा देउवाले झण्डै दुई तिहाईको मत प्राप्त गरेका थिए।