काठमाडौं। क्रियाशील सदस्यता विवाद र मन्त्रीको रुपमा सरकारमा पठाउने नेताहरुको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक बसिरहेको छ।
महामन्त्री शशांक कोइरालाको निवासमा जारी बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा।प्रकाशशरण महत, अर्जुन नरसिंह, शेखर कोइराला, प्रदीप पौडेल लगायतका नेताहरु सहभागी छन्।
कांग्रेसको क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै तीन वटा समूह पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन्। यही विवादका बीच आगामी भदौमा १४ औं महाधिवेशन गराउनुपर्ने चुनौती कांग्रेस नेताहरुलाई छ। आसन्न महाधिवेशनमा आफ्नो पक्षमा माहोल बन्ने गरी मन्त्री पद बाँडफाँट गर्नुपर्ने दबाव नेताहरुलाई छ।
यहीबीचमा प्रधानमन्त्री बनेका पार्टी सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तारको तयारीमा छन्। हाल सरकारमा कांग्रेस र माओवादीबाट दुई–दुई जना मन्त्री छन्।