अन्तत: ओली र नेपाल समूह पनि विभाजित



काठमाडौँ। अन्ततः एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूह पनि विभाजित बनेको छ। आइतबार राती प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा एमाले चिराचिरामा विभक्त बनेको हो।

ओली प्रतिगामी कदमहरुका विरुद्ध राजनीतिक लडाईंको नेतृत्व गर्दै आएका माधव नेता समूहका युवा नेताहरु समेत अन्ततः नेपालको साथ छोडेर पार्टी एकताको नाममा संसदबाट बाहिरिएका थिए।

नेकपा एमालेमा केपी ओली पक्षका सांसदले देउवालाई मत दिने अपेक्षा नै थिएन। अर्कोतर्फ माधव नेपाल पक्षका सांसदले देउवालाई मत नदिने अपेक्षा थिएन। तर, आइतबार राति प्रतिनिधि सभामा मतदान दिँदा ओली पक्षका ८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका छन्। त्यस्तै माधव नेपाल समुहमा रहेका ८ सांसद तटस्थ बसेका छन्।

सर्वोच्च अदालतमा देउवाको पक्षमा हस्ताक्षर बुझाउनेमा माधव नेपाल पक्षका २३ सांसद थिए। यी मध्ये झलनाथ खनाल दिल्लीमा उपचाररत छन्। नेपाल पक्षका बाँकी २२ मध्ये माधव नेपालसहित १४ जनाले देउवाको पक्षमा मतदान गरे।

सर्वोच्चमा हस्ताक्षर गर्नेमध्येका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डेले कतैपनि मत दिएनन्।

उता, केपी ओली पक्षका आठ सांसदले देउवाको पक्षमा मत दिएका छन्। देउवाको पक्षमा मत दिने ओली निकट सांसदहरुमा प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी छन्।

प्रतिनिधि सभामा नेकपा एमालेका कुल १२१ सांसद रहेका छन्। तीमध्ये ३३ सांसद अध्यक्ष ओलीको विपक्षमा उभिएका छन्। देउवाको पक्षमा भोट हाल्ने माधव समुहका १६, ओली समुहका ८, तटस्थ ८ र झलनाथ खनालसमेत जोड्दा ३३ पुग्छ।

एमाले सांसद को कता?

देउवाको पक्षमा मतदान गर्ने ओलीका सांसदः प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी

तटस्थ बसेका माधव नेपालका सांसदः घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डे।

देउवालाई मतदान गर्ने माधव पक्षका सांसदः माधव नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, माधव नेपाल, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपाने।