ओलीलाई राम्रा कामका लागि देउवाको धन्यवाद



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि धन्यवाद दिएका छन्।

आइतबार संसदमा विश्वासको मत माग्ने क्रममा देउवाले ओलीको कार्यकालमा हासिल गरेका अनुभवहरु उपयोगी हुने बताएका छन्। कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाले बताएका छन्। प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताएका छन्।

प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गरे।

प्रधानमन्त्री देउवाको प्रस्तावपछि संसदमा दलका प्रतिनिधिहरुले बोल्ने क्रम सुरु भएको छ। यसक्रममा नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले इतिहास प्रहसनका रुपमा दोहोरिएको बताएका छन्।