भीम रावलको राजीनामा जायज होइन: वामदेव गौतम



काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने ? सांसदको आत्मनिर्णय भएको दाबी गरेका छन्।

उपाध्यक्ष गौतमले संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्, ‘भीम रावलले आफ्नो तवरबाट राजीनामा दिनु भएको होला। तर, अदालतले नै हामीलाई स्वविवेकीय अधिकार प्रयोग गर भनेको छ। देउवालाई मत दिनैपर्छ भन्ने पनि छैन। दिनु हुँदैन भन्ने पनि छैन। यसमा उहाँले के गर्ने ? त्यो गर्नुपर्ने थियो। तर, राजीनामा दिनु जायज भएन।’

पत्रकारहरूसँग कुरा गर्दै गौतमले भने, ‘संवैधानिक इजासले नै राजीनामा गर्न पर्दैन भनेको छ। पार्टीको निर्णय मान्ने भए सरकारको विपक्षमा मतदान गर्ने, नमान्ने भए पक्षमा मतदान गर्ने हो। यसमा राजीनामा दिइहरनु आवश्यक थिएन। यदि कारवाही भयो भने भोलि फेरि सर्वोच्चले पार्टीमा राख भन्छ। यसमा डराउनु पर्दैन।’

सदूरपश्चिम प्रदेशको अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रावलले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए। सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन्।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए। ‘तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले पत्रकारहरुमाझ भने।