काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन्।
उनीहरूले पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने, अहिलेको अवस्थामा निर्वाचन आवश्यक नभएको, संविधानको कार्यान्वयन र स्थिरताका पक्षमा आवाज उठाउँदै आएका छन्। यहि कारण अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ त्यहि गर्नेमा रहेको बताएका छन्।
यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ। शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने बताई सकेको छ। यद्यपी कसैले देउवालाई विश्वासको मत दिए उनीहरू एमालेमा नरहने निर्णयसमेत गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ। आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ।
कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख मार्फत विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।