काठमाडौँ। विभाजनको डिलमा पुगेको राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ।
शनिबार जसपाको हाल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।
जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम रहेको ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाउने बैठकले निर्णय गरेको छ। पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ।
जसपाको यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीनजना राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताए। जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ। सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन्। पार्टीका अर्का अध्यक्ष महन्त ठाकुरको पक्षका केही सांसद पनि यादव पक्षमा आएको बताइएको छ।
उपेन्द्र पक्षीय नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले महन्थ ठाकुरको पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाललगायतका सांसदहरु उपेन्द्र यादवको पक्षमा आएको बताए। उनले अझै केही सांसदहरु उपत्यका बाहिर रहेको कारण बैठकमा आउन नसकेको र चारजना सांसद अझै सम्पर्कमा रहेको दावी गरे।
अरु चारजना सांसद को को हुन् भन्नेबारे उनले बताउन चाहेनन्। यसअघि उपेन्द्र यादवको साथ छाडेर विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रेणुका गुरुङ, राम दुलारी खत्वे महन्थ ठाकुरको पक्षमा लागेका थिए। त्यसले गर्दा महन्थ ठाकुरले बहुमत प्राप्त गरेका थिए।